दशैँतिहारमा ड्रोन समेतको प्रयोग काठमाडौंमा सुरक्षा गर्दै मेट्रो
- पृतांक राष्ट्रिय दैनिक
- काठमाडौं २०७७ कार्तिक ४ गते मंगलबार
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेल अपराध अनुसन्धान र कमाण्डमा काबिल अफिसरको रुपमा निवृत तथा वहालवाला सबै प्रहरी अधिकारीले लिने नाम हो । उपत्यकाको सम्पूर्ण शान्ति सुरक्षाको नेतृत्वकर्ता भएको नाताले उनको जिम्मेवारी झनै बढेको छ । रानीपोखरी आएदेखि उनले गरेका नीतिगत सुधार र जनसम्बन्ध विस्तारका घटनाले आम नागरिकमा प्रहरी माथिको विश्वासलाई झनै बढाएको छ ।
कोरोना महाब्याधीमा उनले सचेतता पुर्वक लिएको पहलकदमीलाई अहिले पनि प्रहरी प्रधान कार्यालयले उच्च मुल्यांकन गरिरहेको छ । लकडाउनमा राहत वितरणदेखि, मजदूरको उद्दारमा उनि आफै सडकमा आएर खटिए । कोरोना महाब्याधिको समयमा राजधानीको सुरक्षा व्यवस्था र दशैंलाई एकै तराजुमा राखेर हेर्दा उनको अग्नि परिक्षा सुरु हुने एक अवकास प्राप्त डिआईजीले कान्तिपथलाई बताए ।
केहि समय पहिले महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले मातहतका सबै इकाई प्रमुखलाई जवानसँगै बसेर खाना खान निर्देशन दियो । अधिकृत र जवानको छुट्टाछुट्टै मेस राखिँदै आएकामा एउटै मेस प्रयोग गर्न निर्देशन दिइएको पोखरेलले बताउने गरेका थिए । उपत्यकाको तीन जिल्ला हेर्ने आयुक्तको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले मातहतका सबै प्रहरी इकाई प्रमुखलाई बोलाएर १० दिनभित्र सुविधा सम्पन्न साझा मेस तयार गर्न निर्देशन दिएका थिए जुन कार्यन्वयनमा गएको छ ।कोरोना महामारीको समयमा फ्रन्टलाईनमा खटिने प्रहरीमा लामो समय देखि घर जान नपाएपनि डिआईजीको यो कदमले प्रहरी संगठन भित्र नै पारिवारिक र घुलमिलको वातावरण सिर्जना गर्न मद्दत गरेको थियो। संसार बदल्नु छ भने सुरुवात आफैबाट गरौ भने झैँ पोखरेल आफै जवानको मेसमा खाना खान थाले, जसले देशभरका प्रहरीमा सकारात्मक तरङ्ग पैदा गर्यो।
Reward & Punishment कार्यस्थलमा कार्यसम्पादन उच्च गर्न मद्दत गर्ने एउटा मूल मन्त्र नै हो। त्यहि मन्त्र बुझेका पोखरेलले उत्कृष्ट व्यवस्थापन गर्ने १० कार्यालय प्रमुख र लेखापाललाई पुरष्कृत गर्ने घोषणा नै गरे । कोरोना संक्रमणलाई बुझेका पोखरेलले स्वास्थ्य मापदण्ड बुझेर नै भान्छामा आवश्यक सबै किसिमको भाडाकुँडाको व्यवस्थापन साथै प्रहरी जवानबराबरकै थाल, कचौराको व्यवस्थापन गर्न पनि भनेका छन् ।
रानीपोखरीको नेतृत्वमा आएपछि पोखरेलले हरेक दिन राति विभिन्न प्रहरी इकाईको निरीक्षण गर्दै आएका छन् । एकदिन लैनचौरमा एक सर्वसाधारणले महिला प्रहरी जवानलाई गालीगलौज गरेको पोखरेलले थाहा पाएका थिए । ती व्यक्तिलाई एक प्रहरी निरीक्षकले छुटाएको विषय राति जानकारी पाएपछि उनले सबै वृत्तका प्रमुखलाई रानीपोखरीमा बोलाएका थिए । त्यसक्रममा उनले ड्युटीमा खट्ने कुनै पनि अधिकृत, जवानको मनोबल खस्कने ढंगले जिम्मेवारीमा हस्तक्षेप नगर्न निर्देशन दिएको एक अधिकृतले बताए ।
विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि पोखरेलले उपत्यकाका १६ स्थानमा सर्वसाधारणलाई हात धुने व्यवस्था मिलाएका थिए। महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले काठमाडौं उपत्यकाका बढी भिडभाड हुने र जोखिममा रहने स्थानमा सर्वसाधारणलाई हात धुनका लागि साबुनसहित पानी ट्याङ्की राखेको हो ।
लकडाउनका कारण दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउने कामदार तथा विपन्न र गरिब परिवारमा समस्या बल्झिँदै गएको पोखरेलले देख्न सकेनन । दैनिक दाताले दिएको सहयोगमा चल्ने आश्रम, संरक्षण केन्द्र र बाल तथा वृद्धाश्रममा समेत समस्याको चाङ चुलिएको देखेपछि उनले राहत वितरणको व्यवस्था पनि मिलाए। खाद्यान्नको समस्या भएका व्यक्तिले सिधै पोखरेललाई सम्पर्क गर्न थाले भने पोखरेल आफै पनि विभिन्न स्थानमा पुगेर राहत वितरणमा खटिए ।
सरकारले जारी गरेको लकडाउनका कारण डिआईजी पोखरेल तिन/चार महिना देखि घर गएनन्, उनका लागि कार्यालय, सडक र जनता नै घर भए । पोखरेल भन्छन तिनै जनता भित्र मेरो घर परिवार पनि पर्ने हो, जनता सुरक्षित् भए भने घर सुरक्षित् हुन्छ । उनि मेट्रो प्रमुख भएर आएदेखि प्रहरीले ठुलाबडालाई केहि गर्दैन भन्ने ट्याग हटेको छ । उनकै अग्रसरता र निर्देशनमा कालोबजारी गर्ने भिआईपी ब्यापारी र जुवाडे समातिएका छन्, राजधानीमा अपराधको ग्राफ घट्दो छ, शान्ति सुरक्षा र अमन चयनको स्थिति सिर्जना भएको छ । साँचो अर्थमा भन्दा राजधानीबासीले धेरै पछि गर्व गर्न लायक ‘वन्स इन अ थाउजण्ड’ अफिसर पाएका छन् ।
उनै ‘वन्स इन अ थाउजण्ड’ अफिसरका लागि कोरोना महाब्यधीमा फेरी अवसर र चुनौती दुवै आएको छ । दशैंमा काठमाडौँ छाड्ने यात्रुको सफल व्यवस्थापन, कोरोनामा भिड नियन्त्रण, कालोबजारी नियन्त्रण, जुवातास नियन्त्रण, चाडबाडमा हुने अपराधिक क्रियाकलापको नियन्त्रण, अत्यधिक मदिरा सेवनद्वारा हुने दुर्घटना नियन्त्रण नै नयाँ कसीमा हुने उनका परिक्षा हुन् ।
मुख्यगरी दशैँ तिहारको बेलामा जुवातास, मापसे, पटाका, उच्छृङ्खलरुपमा मनाइने देउसीभैलो, र झैझगडाजस्ता अपराध हुने गरेको छ । सांस्कृतिक परम्पराअनुसार चाडबाड मनाउन आग्रह गर्दै पोखरेलले अपराधरहित पर्व मनाउनका लागि प्रहरीको प्रयास जारी रहेको र घटना भइहालेमा तत्कालै कारवाहीको दायरामा ल्याउन प्रतिबद्धता जनाए ।
चाडबाडमा हुने सामाजिक विकृति विसङ्गतिसँगै प्रविधिको माध्यमबाट हुने अपराध र अस्वभाविक बैंकिग गतिविधिको पनि नियमित निगरानी भइरहेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार राजधानीबाट भित्रिने र बाहिरिने नाकाहरुमा जाँचचौकीलाई अनुगमनमा कडाइ गर्न निर्देशन दिइएको छ । मोटरसाइकल गस्ती र सादा पोशाकमा प्रहरीले नियमित निगरानी गरिरहेको जनाइएको छ ।
प्रहरी प्रधान कार्यालयले कोरोनालाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाउन उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कतिपय जिल्लाले सुरक्षा योजना तयार पारिसकेको र कतिपय जिल्लाले अन्तिम तयारीमा जुटेको जानकारी दिए ।
यसपालि ७७ वटै जिल्लामा कोरोनाबाट आफू पनि बच्ने र नागरिकलाई समेत बचाउने गरी रणनीति तयार पार्न लागिएको प्रहरीले जनाएको छ । सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखिने, मोबाइल गस्ती बढाइने तथा सुरक्षा चौकी थप गरेर शान्ति सुरक्षालाई चुस्त पारिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाण्डाै उपत्यकाको तीन जिल्लाले सुरक्षा योजना बनाए पनि त्यसलाई एकीकृत गरेर संयुक्त सुरक्षा योजना बनाउने तयारी गरिएको छ । उपत्यका प्रहरीको नेतृत्व गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार तीनै जिल्लाका प्रमुखलाई योजना बनाएर पेश गर्न निर्देशन दिइसकिएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डाैले भने सुरक्षा योजना पेश गरिसकेको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले तीनै जिल्लालाई सुरक्षा योजना बनाए पेश गर्न भनिएको जानकारी दिए । उनले प्रहरीको व्यवहार र इमान्दारितामा नचुक्ने गरी रणनीति तयार गर्न निर्देशन दिइएको बताए । लोभलाभमा नपरी काम गर्न र प्रहरीको व्यवहारबाट नागरिकको आत्मसम्मानमा चोट नपुगोस् भन्ने ढङ्गले अघि बढ्न उपत्यकाका प्रहरी सचेत गराइएको छ ।
उनले यसपालि दशैंँको समयमा प्रहरी कर्मचारी घरमा जानसक्ने अवस्था नरहेकाले तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि खानपानमा समेत विशेष व्यवस्था गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताए । उनका अनुसार यसपालि विगतको सुरक्षा योजनामा थप गर्दै कुकुरसमेत परिचालन गर्न थालिएको छ । आवश्यकतानुसार ड्रोनको समेत प्रयोग गर्न लागिएको छ । सवारीका यात्रु ओर्लने/उक्लने क्षेत्रमा नियमित जाँच थालिएको छ । आवश्यकतानुसार सादा पोशाकमा प्रहरी परिचालन हुनेछ । बढी भाडा लिने गरी टिकट काट्ने यातायात काउन्टरका कर्मचारीलाई नियन्त्रणमा लिएर कारवाही थालिएको छ ।


प्रतिक्रिया