सर्तसहित सैनिकको पेन्सन अवधि स्वीकृत

पृतांक राष्ट्रिय दैनिक 

सर्तसहित सैनिकको पेन्सन अवधि स्वीकृत
काठमाडौं । नेपाली सेनाका फलोअर्स तथा सिपाहीले १६ वर्ष सेवा अवधि पूरा गरेपछि स्वेच्छिक अवकाश लिएर निवृत्तभरण पाउने भएका छन् । जंगीअड्डाले पठाइएको प्रस्तावलाई अर्थ र सामान्य प्रशासन मन्त्रालयले स्वीकृति दिएपछि २९ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले सैनिक ऐनलाई संशोधन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले स्वीकृत गरेको सैनिक सेवा (तेस्रो संशोधन) नियमावली, २०७७ मा १६ वर्षमा निवृत्तिभरणको सुविधा प्राप्त हुने गरी अवकाश लिन मिल्ने भए पनि पेन्सनका लागि थप चार वर्ष कुर्नुपर्ने उल्लेख गरिएको छ । सैनिक स्रोतका अनुसार आर्थिक भार हुने भन्दै अर्थ मन्त्रालयले २० वर्षपछि मात्रै पेन्सन पाइने गरी मध्यमार्गी निर्णय गरिएको हो ।यही प्रावधानसहित प्युठ, अमल्दार र हुद्दाले १७ वर्ष, जमदारले १८ वर्ष, सुवेदार र प्रमुख सुवेदारले १९ वर्ष र सहायक सेनानी र त्यसभन्दामाथि प्रधानसेनापतिसम्मले २० वर्षमा अवकाश लिन सक्ने भनिएको छ । यो निर्णय २०६० बैशाख २८ वा त्यसभन्दा पछि भर्ना भएका सैनिकहरूको हकमा मात्र लागू हुनेछ ।करिब एक लाख सदस्य रहेको सैनिक फौजमा सबैभन्दा बढी फलोअर्स र सिपाही छन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकालको पहिलो एक वर्ष पुगेको अवसरमा भदौ २५ मा गरेको विशेष सम्बोधनमा केही वर्षदेखि पदीक तथा अन्य दर्जाबाट सबै तहको रोलकल र अन्तरक्रियाका दौरान नियमित उठान हुने गरेको पेन्सनको सेवा अवधि घटाउने प्रक्रिया अघि बढेको घोषणा गरेका थिए । सेनामा मात्र होइन, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि पेन्सन अवधि घटाउन माग हुँदै आएको छ ।

प्रतिक्रिया