राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न:

पृतांक राष्ट्रिय दैनिक 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यूको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की लगायत अन्य प्रहरी अतिरिक्त महानिरीक्षकहरु, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन प्रा.डा. हरि अधिकारी, PGDPS कार्यक्रमका सल्लाहकार प्रा.डा. राजिव विक्रम राणा , कान्तिवाल अस्पतालका निर्देशक डा .आर.पि विच्छा , प्रतिष्ठान नारी विकास प्रशिक्षण केन्द्रकी अध्यक्ष लगायत अन्य पदाधिकारीहरु तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. देव बहादुर बोहराले प्रमुख अतिथि लगायत सम्पूर्ण आमन्त्रित महानुभावहरुको लागि स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रतिष्ठानको ईतिहासको विषयमा प्रष्ट पार्दै वहाँले व्यवसायिक र विशिष्टिकृत मानवस्रोत उत्पादन कार्यमा प्रतिष्ठानको महत्वपुर्ण भुमिका रहेको कुरा उल्लेख गर्नु भयो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सवको अवसरमा शुभ-कामना मन्तव्य दिदै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन प्रा.डा. हरि अधिकारीज्यूले प्रहरी निरीक्षक आधारभूत तालिममा समावेश गरिएको PGDPS (Post Graduate Diploma In Police Sciences) कार्यक्रमले प्रहरी अधिकृतहरुको व्यक्तित्व विकास गरी संगठनको लागि सिद्दहस्त व्यवसायिक प्रहरी अधिकृत उत्पादन गरेको कुरा बताउनु भयो । त्रिभुवन विश्वविद्यालयबाट प्रहरीमा MPS (Masters In Police Sciences)कार्यक्रम सञ्चालनको लागि स्वीकृति पाईसकेको अवस्थामा उक्त कार्यक्रमलाई छिट्टै सञ्चालन गर्नु पर्ने सुझाव समेत उहाँले व्यक्त गर्नु भएको थियो
कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रहरी निरीक्षक आधारभूत तालिम १८० औं समूहको तालिममा उत्कृष्ट स्थान हासिल गर्नुहुने प्रहरी निरीक्षकहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भयो । उक्त तालिममा प्रहरी निरीक्षक प्रवेश कार्की सर्वप्रथम, प्रहरी निरीक्षक एल्जीना राई सर्व द्धितीयका साथै अध्ययन प्रथम र प्रहरी निरीक्षक रविन्द्र चन्द सर्व तृतीय हुनु भएको थियो ।
सोहि अवसरमा अवकाश प्राप्त प्रहरी निरीक्षक कोमल बहादुर थापालाई प्रमुख अतिथिज्यूले Life Time Achievement Award र नगद पुरस्कारद्वारा सम्मानित गर्नु भयो । निरन्तर ४५ वर्ष नेपाल पहरीको प्रशिक्षण क्षेत्रमा उल्लेखनिय योगदान दिनु भएका कोमल बहादुर थापालाई उक्त अवार्ड प्रदान गरिएको हो ।
विशेष बढुवाद्वारा प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा पदोन्नती हुनुभएका मन्देकाजी श्रेष्ठलाई पनि प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रमको अवसरमा प्रमुख अतिथिज्यूले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो । प्रहरी सहायक निरीक्षक मन्देकाजी श्रेष्ठ नेपाल प्रहरीका तथा राष्ट्रिय स्तरका कराते खेलाडी हुनुहुन्छ । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा कराते खेल तर्फ दोहोरो स्वर्ण पदक विजेता श्रेष्ठले अन्य थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा विभिन्न पदक हासिल गर्नु भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रिज्यूले आफुले प्राप्त गरेको सफलताको पछाडि प्रतिष्ठानको अभुतपुर्व र अतुलनिय योगदान रहेको कुरा बताउनु भयो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट प्राप्त Knowledge र Skill लाई सेवा अवधिसम्म अक्षुण्ण राख्न सक्ने Attitude समेत प्रतिष्ठानले प्रशिक्षार्थिहरुलाई दिनु पर्ने विषय उल्लेख गर्दै पुरस्कृत हुनु हुने प्रहरी निरीक्षकहरुलाई बधाई ज्ञापन गर्नुका साथै वहाँहरुको उज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्नुभयो । सोही क्रममा बोल्दै उहाँले Life Time Achievement Award बाट सम्मानित हुनु हुने अवकाश प्राप्त प्रहरी निरीक्षक कोमल बहादुर थापा तथा पदोन्नती हुनुभएका प्रहरी सहायक निरीक्षक मन्देकाजी श्रेष्ठलाई बधाई दिदै सुख, सु-स्वास्थ तथा प्रगतिको कामना गर्नु भयो ।
कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षिक प्रद्युम्न कुमार कार्कीज्यूले प्रमुख अतिथिज्यू लगायत उपस्थित अतिथिज्यूहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । सोही क्रममा बोल्दै उहाँले नेपाल प्रहरीको विगत र वर्तमानसंग गाँसिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रत्येक प्रहरी अधिकृतहरुको निमित्त पवित्र स्थल रहेको साथै व्यवसायिक जीवनको उद्गम स्थल र व्यक्तत्व निर्माणमा प्रेरणाको स्रोत रहेको बताउनु भयो ।
नेपाल प्रहरी संगीत विद्यालयको सांगितिक प्रस्तुती पश्चात राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६५ औं वार्षिकोत्सव कार्यक्रमको समापन भएको थियो ।

प्रतिक्रिया