आन्तरिक राजश्व कार्यालय विराटनगरलाई लक्ष्यभन्दा धेरै भ्याट प्राप्त
विराटनगर
विराटनगर
राजश्व कार्यालय विराटनगरलाई मूल्य अभिवृद्धि कर (भ्याट) रकम लक्ष्यभन्दा बढी प्राप्त गर्न सफल भएको छ । कार्यालयलाई आयकर, अन्तशुल्क र कुल राजश्व संकलनमा समस्या भएपनि भ्याटमा लक्ष्यभन्दा धेरै प्राप्त गर्न सफल भएको हो ।
बन्दाबन्दी (लकडाउन)का कारण राजश्व संकलन लक्ष्यभन्दा कम हुंदै आएको थियो । तर भ्याट संकलन क्रम भने बढिरहेको राजश्व कार्यालयले जनाएको छ । राजश्वमा भने बितेको भदौ महिनामा लक्ष्यभन्दा झण्डै रू. २० करोड कम संकलन भएको देखिएको छ ।
भदौ महिनामा आयकर ७४ प्रतिशत संकलन हुँदा भ्याट १४० प्रतिशत उठेको छ । भदौमा रू. १२ करोड १० लाख भ्याट संकलन गर्ने लक्ष्य रहेकोमा रू १७ करोड बढी संकलन भएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार भदौमा कुल राजश्व रू. ५७ करोड ५६ लाख उठाउने लक्ष्य रहेकोमा रू. ३७ करोड ६९ लाख मात्रै संकलन भएको छ । ३० भदौसम्ममा लक्ष्यको ६१ प्रतिशत मात्रै उठेको थियो । भदौमा आयकरमा पनि रू. १२ करोड २९ लाख संकलनको लक्ष्य रहेकोमा ३० भदौसम्ममा रू. ९ करोड ६८ लाख उठेको छ । गत साउनमा लक्ष्यको ८१ प्रतिशत कुल राजश्व उठेकोमा भ्याट सतप्रतिशत उठेको थियो । अन्तशुल्कमा भने साउन र भदौमा निकै कम राजश्व उठेको छ ।

मदिरा असार महिनामै बढी निकासी हुने भएकाले साउनमा लक्ष्यको ४६ प्रतिशत मात्रै अन्तशुल्क उठेको उनले जानकारी दिए । नेपाल लिकर्स लिमिटेड, चण्डिका डिष्ट्रिलरी प्रा.लि., र गोल्डेन ग्लोब्स लिकर्स प्रा.लि. गरी तीन वटा मदिरा उद्योगले विराटनगरमा अन्तशुल्क बुझाउने गरेका छन् ।
साउनमा कुल राजश्व रू. ७१ करोड ६४ लाख संकलन हुने लक्ष्य रहेकोमा रू. ६२ करोड ४७ लाख मात्रै उठेको थियो । आव २०७६/७७ मा रू. १० अर्ब १२ करोड राजश्व उठाउने लक्ष्य रहेकोमा ६९ प्रतिशत अर्थात रू. ६ अर्ब ९५ करोड मात्रै उठे पनि भ्याट भने सतप्रतिशत उठेको सापकोटाले बताए ।
गत आवमा रू. १ अर्ब ८५ करोड भ्याट उठेको थियो । ‘भ्याट संकलनमा खासै समस्या छैन, कहिलेकंही लक्ष्य भन्दा बढी पनि उठने गरेको छ’, उनले भने, ‘लकडाउनका कारण चैतयता भने कुल राजश्व संकलनमा समस्या छ ।’
गत वर्ष आयकर रू. ३ अर्ब २६ करोड उठाउने लक्ष्य रहेकोमा ८१ प्रतिशत अर्थात २ अर्ब ६४ करोड उठेको थियो । साथै अन्तशुल्कमा रू. ४ अर्ब ९९ करोड संकलनको लक्ष्य भएपनि ४९ प्रतिशत मात्रै उठेको उनले बताए ।


प्रतिक्रिया