नारी दिवस विशेष: प्रहरी संगठनमा प्रथम महिला एआईजी डा दुर्गा थापा

पृतांक राष्ट्रिय दैनिक 

काठमाडौँ।

नेपाल प्रहरी भित्र डा. दुर्गा थापा (पुन) मगर एआइजी (प्राविधिक अतिरिक्त महानिरीक्षक) हुनुहुन्छ। नेपाल प्रहरीको इतिहासमा नै पहिलो पटक उहाँ महिला एआइजी हुन सफल हुनु भएको थियो।

नेपाल प्रहरी अस्पतालकी निमित्त मेडिकल डाइरेक्टर थापालाई मन्त्रिपरिषदले २०७५ सालको २५ कात्तिकमा एआईजीमा बढुवा गरेको हो। नेपाल प्रहरीको स्थापनाको ६५ वर्षे इतिहासमा महिला एआइजीमा बढुवा भएको त्यो नै पहिलो घटना थियो। यसअघि पार्वती थापा र विमला थापा डीआइजी पदसम्म पुग्नु भएको थियो। उहाँहरुको अवकाश सोही पदबाटै भएको थियो।

दन्त चिकित्सकका रुपमा ०४६ सालमा प्रहरी संगठनमा प्रवेश गर्नुभएकी थापा ०३५ को एसएलसी परीक्षामा बोर्ड थर्ड र छात्रातर्फ प्रथम हुनुहुन्छ। कक्षा आठसम्म हङ्गकङ्गको गोर्खा हाईस्कुलमा पढेकी उनी काठमाडौंको कन्या मध्यामिक हाईस्कुलबाट एसएलसी परीक्षामा सहभागी हुनुभयो।

अस्कल साइन्स क्याम्पसबाट आइएस्सी गरेपछि थापाले पाकिस्तानमा शिक्षा मन्त्रालयको छात्रवृत्तिमा ब्याचलर अफ डेन्टल सर्जरी (विडिएस) पढ्ने मौका पाउनु भयो। त्यसपछि दक्षिण भारतको चेन्नईबाट एमडीएस गर्नु भयो।

उनका बुवा ब्रिटिस गोर्खा पल्टनमा ब्याण्ड मास्टर हुनुहुन्थ्यो। उहाँ रिटायर्ड भएर नेपाल आएपछि तत्कालीन महानिरीक्षक ­(आईजीपी) खड्गजीत बरालले नेपाल प्रहरीमा पनि ब्याण्ड स्थापना गर्न भर्ती गराउनु भएको थियो।

थापा बीडीएस सकेर पाकिस्तानबाट फर्कँदा उहाँका बुवा एसएसपी हुनुहुँदो रहेछ। बुवाको नै प्रेरणाले थापा प्रहरी सेवामा लाग्नु भएको थियो।

त्यसरी उहाँ ०४० सालमा स्थापना भएको नेपाल प्रहरी अस्पतालमा इन्सपेक्टर रुपमा प्रवेश गर्नुभयो।

nepal deep

प्रतिक्रिया