जेलमुक्त भएर घर फर्केपछि गाउँमा खुशीयाली
आइतबार असोज ४
पर्वत
पर्वत जिल्ला कारागारमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका दुई कैदीले संविधान दिवसको अवसरमा ५० प्रतिशत सजाय छुट पाएर घर फर्कदा गाउँमा खुसीयाली मनाएका छन ।
पर्वतको कुश्मा नगरपालिका ९ कटुवाचौपारीका अर्जुनदास बैरागी गाउँमा पुगेपछि खुसीयाली मनाएका छन । बैरागी संगै महाशिला गाउँपालिका २ भोक्सिङका विजय कुमार नेपाली सजाय छुट पाएर जेल मुक्त छन ।
कुटवाचौपारीका बैरागीले कुश्मा नगरपालिका १० पिपलटारीका कमल क्षेत्रीको ज्यान मारेको अभियोगमा १० बर्ष कैद सजाय सुनाइएर पर्वत कारागारमा सजाय भुक्तानको क्रममा थिए । उनी ५ बर्ष १ महिना ३ दिन कारागारमा बसेर ५० प्रतिशत सजाय भुक्तान गरेपछि उनी जेल मुक्त भएका हुन् ।
जेल मुक्त भएर फर्केपछि कटुवाचौपारीका बैरागीको गाउँमा खुशीयाली छाएको छ । शारिरीक रुपमा वाक अपाङ्गता रहेका बैरागी वास्ताविक अपराधी नभएको र उनको सजाय छुट भएर घर फर्किँदा ढिलै भएपनि न्यायको अनुभुति भएको स्थानीय समाजसेवी रामशर्मा पौडेलले बताउनुभयो । उनी घर फर्केपछि परिवारका सदस्य र छरछिमेकीले समेत हर्षका आँशु बगाएको पौडेलले जानकारी दिनुभयो । ‘अति नै मिलनसार र कर्मयोगी व्यक्ति तोकिएको सजाय भुक्तान गर्नै नपरी घर फर्किँदा हामी सिंगो गाउँ खुशी भएको छ’ उहाँले निर्दोष व्यक्तिले सजाय पाउन नहुने टिप्पणी समेत गर्नुभयो।
त्यस्तै गौबध मुद्धाको अभियोगमा पर्वत जिल्ला अदालतबाट १ बर्ष ६ महिना कैद सजाय सुनाइएका महाशिलाका नेपालीले ९ महिना २३ दिन सजाय भुक्तान गरेपछि बाँकी कैद सजाय मिनाहा भएको हो । नेपाली र बैरागी दुवै जना शनिबार संविधान दिवसको अवसरमा जेलमुक्त भएर घर फर्केका छन् । कारागार प्रशासनले दुवैजनालाई आफन्तको जिम्मा लगाएर घर पठाएको पर्वत जिल्ला कारागारका निमित्त जेलर हरिकृष्ण शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार विशेष प्रकृति भन्दा बाहेकका मुद्धाहरुमा नेपाल सरकारले ५० प्रतिशत भन्दा बढी कैद सजाय भुक्तान गरिसकेका कैदीहरुको आचारण र व्यवहारमा सुधार आएर सजाय छुट दिन सकिने प्रावधान अनुसार उनीहरु जेल मुक्त भएको बताउनुभयो । पर्वत जिल्ला कारागारमा रहेका ९४ जना कैदी बन्दी मध्ये अदालतबाट फैसला भएर सजाय भुक्तान गरिरहेका दुई जनाको नाम सिफारिस गरी कारागार व्यवस्थापन विभाग पठाएको र सोही अनुरुप उनीहरु जेलमुक्त भएको उहाँले बताउनुभयो ।
समाप्त असोज ४
फोटो गाउँमा पुगेपछि स्वागतमा खुसीयाली मनाउँदै । राम शर्मा पौडेलको फेसबुकबाट


प्रतिक्रिया