सशस्त्र प्रहरीको जनशक्ति थपने सरकारको तयारी
गृहमन्त्री बालकृष्ण खाँणले मुलुक र जनताको सुरक्षाको महत्वपूर्ण जिम्मेवारी पाएको सशस्त्र प्रहरीमा जनशक्ति थप गर्दै साधन स्रोत सम्पन्न गराउने सन्दर्भमा सरकार गम्भीर रहेको बताएका छन् । काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बल नेपालको निरीक्षणपछि आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सीमा सुरक्षा चौकीको सङ्ख्या थप्ने, प्रहरीको क्षमता वृद्धि गर्ने र भइरहेका चौकीको स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याए ।
सशस्त्र प्रहरीलाई साधन स्रोत युक्त बनाउन सरकारले सक्दो पहल गर्ने छ, त्यसका लागि नेपाल मन्त्रालय गम्भीरतापूर्वक लाग्नेमा विश्वस्त गराउँदछु”, मन्त्री खाँणले भने । उनले अझै पनि कोरोनाको प्रभाव गम्भीर चुनौतीको रूपमा रहेकाले आम नेपालीलाई कसरी जोगाउने भन्ने विषयमा सरकार गम्भीरताका साथ काम गरिरहेको बताए ।
मन्त्री खाँणले भरोसा र विश्वासिलो सुरक्षा बल सशस्त्रले मुलुक र जनताको सुरक्षाका लागि खेलेको भूमिको प्रशंसा गरे । विषम परिस्थितिमा पनि भूखण्डताको रक्षाका लागि हिउँ, धुलो, पानी नभनी कर्तव्य निर्वाहमा खटिने प्रहरी कर्मचारीको योगदानको उनले सराहना व्यक्त गरे ।
गृहमन्त्री खाँणले सशस्त्र प्रहरीले नेपाली जनता र नेपालको रक्षाका लागि दृढताका साथ सक्रिय भएर तस्करी र लागुपदार्थ ओसारपसार नियन्त्रणमा अहम भूमिका खेलेको तथा राजस्व चुहावट कमी गर्न र राजस्व वृद्धिमा महत्वपूर्ण योगदान गरेको बताए ।
सीमित साधन र स्रोतका बीच जनताको सुरक्षामा कर्तव्य निर्वाह विश्वमै सराहनीले काम गरेको उल्लेख गर्दै गृहमन्त्री खाँणले हरेक क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले उत्तिकै भूमिका खेलेको बताए । उनले दुर्घटना हुँदा उद्धार र मानिसको जीवन बचाउने सन्दर्भमा सशस्त्रले अब्बल उपस्थिति जनाएर उल्लेखनीय काम गरेको पनि बताए । राष्ट्रिय गौरवका आयोजनाको सुरक्षा तथा हिंसात्मक गतिविधि नियन्त्रणमा पनि सशस्त्रको भूमिका महत्वपूर्ण भएको बताए ।
नेपाल विरोधी कुनै पनि गतिविधि हुन नहुनेमा जोड दिँदै उनले नेपाल पञ्चशीलको सिद्धान्त र असंलग्न नीतिमा विश्वास गर्ने भएकाले नेपालको तटस्थताको भूमिकामा आँच आउन नहुनेमा जोड दिए । उनले अझै ठोस नीति र कार्ययोजनाका सथ अघि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन पनि दिए ।
गृहसचिव टेकनाराण पाण्डेले शान्ति सुरक्षा तथा आम नागरिकको सेवा, सीमा सुरक्षा, विपद् उद्धार, कोभिड–१९ महामारी व्यवस्थापनलगायत विविध जिम्मेवारीमा सशस्त्र प्रहरी बल नेपालले पु¥याएको योगदानको प्रशंसा गरे ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले भ्रष्टाचार, मानवअधिकार उल्लङ्घन तथा लैंगिक हिंसामा शून्य सहनशीलताको नीति कडाइका साथ पालना गर्दै सङ्गठन अगाडि बढिरहेको जानकारी गराए । महानिरीक्षक खनालले शान्ति सुरक्षा, आम नागरिकको सेवा, सीमा सुरक्षा, विपद् प्रकोप पीडितको उद्धारमा सशस्त्र प्रहरीले योगदान गरिरहेको बताए ।


प्रतिक्रिया