सामाजिक अभियान्ता कृष्णा लामिछानेको रहस्यमय ढंगले मृत्यु भएको भन्दै एनआरएन अमेरिकाद्वारा छानविनको माग
गणेश थापा, क्यालिफोर्नया १५ चैत २०७९ ।
संयुक्त राज्य अमेरिकाको टेक्सासस्थित आफ्नै घरमा गत साता मृत अवस्थामा भेटिएका सामाजिक अभियान्ता कृष्ण लामिछानेको रहस्यमय ढंगले मृत्यु भएको भन्दै एनआरएन अमेरिकाद्वारा निष्पक्ष छानविनको लागि सम्बन्धित पक्षसंग माग गरेको छ ।
एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएशन अमेरिकाले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेको मृत्यु पश्चात सामाजिक संजालमा आइरहेका तस्वीर तथा भिडियोहरूलाई सु़क्ष्म रूपमा अध्यन अनुसन्धानसहित सत्यतथ्य छानविन गरी दोषी उपर सक्त कारवाही हुनपर्ने माग गरेको हो ।
सो संस्थाका अध्यक्ष माधव मरासिनी र महासचिव दिपेश लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ-‘लोकप्रिय सामाजिक अभियान्ता कृष्ण लामिछानेको अकल्पनीय, त्रासदीपूर्ण र रहस्यमय निधनप्रति अत्यन्तै मर्महात छौं । लामिछानेको मृत्यु प्रकरणसंग जोडेर आएका मत अभिमत, फोटो, भिडियो लगायतलाई गहन रूपमा अनुसन्धान गरी निष्पक्ष छानविनसहित दोषीलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसमक्ष जोडदार माग गर्दछौं ।’
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको गत निर्वाचनमा बुद्धि सागर सुवेदीसंग पराजित लामिछाने नेपाली समाज टेक्सासका पूर्वअध्यक्ष समेत हुन ।
टेक्सासमा व्यावसाय संचालन गर्दै आएका लामिछानेले गत बुधवार आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको बताइएको छ । नेपालबाट बुबा छोराको पार्थिव शरीर हेर्न आउने भनिएपनि विवादकै बीच शनिवारनै उनको दाहासंस्कार गरिएको छ । आफू नआउनजेलसम्म लास नजलाउन उनका बुबाले सार्वजनिक रूपमा अपिल समेत गरेका थिए ।
नेपाली समुदायबीच राम्रो सम्बन्ध स्थापित गरेर आफूलाई सामाजिक अभियान्ताको रूपमा उभ्याएका लामिछानको मृत्यु लगत्तै उनकी श्रीमती, छोरी र अर्का एक पुरूष समेतको आवाज सुनिने गालीगलौजसहितको घरेलुहिंसालाई प्रोत्साहन गर्ने खालको पारिवारिक मामिला र विगतको सम्बन्ध, व्यावसायिक समस्या लगायतका कुराहरू सहितको भिडियो सामाजिक संजालमा आएपछि यस घटनाको छानविनका लागि विभिन्न पक्ष र क्षेत्रबाट आवाज उठेको छ ।


प्रतिक्रिया