आफू खलपात्र भएर अरुलाई नायक्त्व ।

सन्त कोठिपाल( लेख )

सधैं कचकच र किचपिच नेपाली राजनीतिको स्वभाव हो । तर अहिले देखा परेको किचलोको स्वाद अलि फरक अनुभव हुनेछ । भनिन्छ, हिलोमा पनि कमल फुल्छ । हुनसक्छ, अहिलेको राजनीतिक किचलोमा नैतिकताको कमल फुलेको अनुभूति नेपाली जनताले गरोस् । कमलको फूल हिलोमा पनि फुल्छ भन्नुको तात्पर्य प्रतिकुलताबाट माथि उठेर पवित्र जीवन बाँच्न प्रेरित गर्छ भन्ने हो । बौद्ध धर्मको ललित विस्तार ग्रन्थमा कमलको फूललाई अष्टमंगल मानिएको छ । कमलको फूल नेपाली समाजमा परापूर्वदेखि नै सम्मानित रहेको छ । अर्चनादेखि आयुर्वेदसम्म यस फूललाई उच्च स्थान प्राप्त छ ।

नेपाली राजनीतिमा गृहमन्त्री रवि लामिछानेको उदय अनायास भयो । तर सधैंको खटपटे नेताहरुबाट दिक्क भएका नेपाली मतदाताले लामिछानेलाई दिल खोलेरै मतदान गरी दिए । वामनले तेस्रो डेगमा बलिको टाउको टेके झैं लामिछानेको पनि पहिलो पाइला निर्वाचन आयोग, दोस्रो प्रतिनिधिसभा र तेस्रो पाइला गृहमन्त्रालयमा पुगेरै रोकियो । लामिछाने पनि कम शातिर देखिएनन् । दोहोरा नागरिकता, दोहोरा राहदानी, दोहोरो चरित्र । प्रतिफल तत्कालै उनी मन्त्री र साँसदबाट खोसिए ।
भनिन्छ, जान बचे तो लाख उपाय । लामिछानेको पद खोसिए पनि नैतिक पतन देखिने अभियोगबाट जोगिए वा भनौं जोगाइए । सांसद पद रिक्त भएको संसदीय क्षेत्रमा उपनिर्वाचन हुनु नै थियो, भयो र उनै लामिछानेलाई मतदाताले पहिलेको भन्दा झन धेरै मत हालिदिए । लामिछाने फेरि सांसदको रूपमा प्रतिष्ठित भए र अब उनले ताकेको ठाउँ थियो, अघि गुमेको गृह । नेपालको अस्थिर राजनीतिले फागुन २३ गते उनलाई गृहमन्त्रालयमा पुनः आसिन गराई दियो ।
रवि लामिछाने गृहमन्त्री नियुक्त भएकामा नेपाली कांग्रेस फेरि उफ्रिन थालेको छ । कांग्रेसले अघिल्लो पटक दोहोरा नागरिकता प्रकरणमा गृहमन्त्रीको पदबाट राजीनामा मागेको थियो भने यस पटक

सहकारीको रकम हिनामिना प्रकरणमा राजीनामा मागेको छ । गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसले प्रतिनिधिसभाको कार्य अवरुद्ध पारेको छ । कांग्रेसले सदन अवरुद्ध गर्दै गर्दा प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसको घुर्कीलाई नटेर्ने जबाफ दिएका छन् भने एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौंलाले कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाएका छन् ।
उपरोक्त राजनैतिक परिवेशमा कांग्रेसबाट हुने सम्भावित आक्रमणको सामना गर्न तम्तयार गृहमन्त्री रवि लामीछानेले कांग्रेसले मुख खोल्नु अगावै सुन तस्करी प्रकरणलाई उचालिसकेका थिए । दुनियाँलाई गुमराह गर्ने तरिका नयाँ पिढीले पुरानै पिढीबाट सिकेका हुन्छन् । गृहमन्त्रीले सुन तस्करमाथि कारबाही गर्न खोज्दा कांग्रेसले विरोध ग¥यो भन्ने पार्न उनले कदम चालिसकेका थिए । उनले सुन तस्करी प्रकरणमा छानबिन आयोगले कारबाही गर्न सिफारिश गरेका पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि तत्काल कारबाही थाल्न प्रहरीलाई निर्देशन दिएका छन् । सुन तस्करी प्रकरणमा कांग्रेस त मुछिएकै होइन भन्ने जनतालाई आफ्नो दमदार छवि देखाउन लामिछानेले बाँसवारी जग्गा प्रकरणमा मुछिएका कांग्रेस सांसद विनोद कुमार चौधरीको फायल खोलेका छन् ।

संसदीय व्यवस्थामा सरकारमा जाने दलहरु, खास गरी नयाँ दलहरुले त केही भए पनि पपुलर कार्य गर्न खोज्छन् । जनताले दिल खोलेर भोट दिएका रास्वपालाई त झन जनताको नजरमा खरो र इमान्दारी देखिनुपर्ने चुनौति छ । मुलुकमा विद्यमान बेथिति र विसंगति हटाउन गृहमन्त्रालयलगायत रास्वपाले पाएका मन्त्रालयहरुले त आआफ्नो विभागीय दायित्व र जिम्मेवारी पूरा गर्नै पर्छ । पार्टीले जनताका लागि र आफ्नै लागि पनि सुशासनको अनुभूति दिलाउनै पर्छ ।
सरकारी सेवाको प्रवाहीकरणमा हरेक तह र निकायमा बेथिति र विसंगति व्याप्त छ । राष्ट्रि«य धरातलमा व्याप्त भ्रष्टाचारमा खासगरी राजनीतिक व्यक्तिहरुकै संलिप्तताले मुलुकलाई चिन्ता र जोखिमको संघारमै पु¥याएको छ । विगतमा भ्रष्टाचारजन्य कार्यदेखि अकूत सम्पत्तिको आर्जनसम्ममा राजनीतिक व्यक्तित्वहरु पनि कार्यबाहीमा पर्दै आएका र अझै पनि कार्यबाहीको सूचीमा छन् । कतिपयले राजनीतिक प्रभाव जमाएर क्लिनचिट लिएर पनि बसेका छन् । राजनीतिक व्यक्तिहरु पाकसाफ र नीतिवान भए मुलुकमा भ्रष्टाचार निमिट्यान्न पार्न गा¥हो छैन । लामिछानेले चालेको कदम सतत चलिराख्ने हो भने त्यो दिन पनि दूर रहन जाने होइन ।

लामिछानेले चालेको कदम कांग्रेसको टाउकोमा बज्रिनाले होइन, अपितु सत्ताका घटकहरुकै छात्तीमा बज्रिँदै जानाले राजनीतिक किचलो पनि देखिन थालेको छ । प्रचण्ड र ओली आफूलाई खलपात्र बनाएर लामिछानेलाई नायकत्व प्रदान गर्लान् जस्तो लाग्दैन । भ्रष्टाचारका काण्डै काण्ड भएको यो मुलुकमा पदमा गएर पनि बेदाग रहेका व्यक्तिहरु कि देखिएका छैनन् कि देखिनसकेका छैनन् । बेथिति र विसंगति विरुद्ध सुधारका लागि चालिएको भनिने लामिछानेको कदम नरोकिने हो भने यसले देशमा ठूलै किचलो पैदा गर्नेछ । तर त्यस्तो किचलो उत्पन्न हुनुअघि गृहमन्त्री लामिछानेले पनि आफूमाथिको आरोप कानूनतः सल्टाउनै पर्छ । ्
देशभरिका सहकारी संस्थाहरुमा सर्वसाधारणको बचत डुबेको छ । त्यसरी जनताको पैसा डुबाएको खारोप खेपिरहेका गृहमन्त्रीलाई एक क्षण पनि पदमा बसिरहने नैतिकता छैन । कसैले पनि आफूमाथिको आरोपसम्बन्धी कारबाही नटुंगिएसम्म सार्वजनिक ओहदामा बस्न मिल्दैन । विनोद कुमार चौधरी वा जुनसुकै सांसद वा नेता होस्, तिनको लागि सिंगो कांग्रेस सति जाँदैन । कांग्रेसले संसद अवरोध गरी रहेमा जनताले पनि लामिछानेको श्वेतपत्र खोज्ला । तर लामिछाने सही छन् भने उनलाई पनि एक चान्स छ । लामिछानेले प्रतिकूल समयलाई अनुकूल बनाउन सक्छन् कि सक्दैनन् भन्ने कुरा समयले साबित गरी छाड्नेछ । हिलोमा कमल फुल्नुको तात्पर्य विपरीत परिस्थितिमा उत्तम परिणाम निकाल्न सक्नु हो । अन्यथा यहाँ राजनीतिमा समीकरण बदलिन कति सजिलो छ त्यो कुरा लामिछानेलाई राम्रै गरी थाहा भइसकेको छ ।

प्रतिक्रिया