सरकारले अनुसन्धान प्रभावित पार्दै छ।

सन्त कोठिपाल 
मिडियाको प्रभाव बढ्दो छ। कुनै पनि क्षेत्रमा शीर्ष तहको नेतृत्व गर्नेहरू मिडियामा आई रहन्छन्, छाई रहन्छन्। खासगरी राजनीति अलि बढी कस्सिएको, गठिलो र साह्रो हुने हुनाले यसको घटनाक्रम सिनेमामा भन्दा अलिक बढी ग्ल्यामरस हुन्छ। राजनीतिका पण्डितहरूले जे बोल्छन्, त्यो कुराले मिडियामा ठाउँ पाई रहन्छन्। आवश्यक देखिएमा तानेर पनि ठाउँ दिई रहन्छन्। नेपाली मिडियामा अहिलेको चर्चित विषय गृहमन्त्री रवि लामिछाने हुन्।
गृहमन्त्री रवि लामिछानेमाथि सहकारी संस्थाको बचत अपचलन गरेको आरोप छ। जनताको रकम अपचलन गरेको आरोप लागेको व्यक्ति मन्त्री पदमा बसी रहन नैतिकताले दिँदैन, त्यसैले लामिछानेले राजीनामा दिनुपर्छ भन्ने एकथरी र यो केही पनि होइन, सहकारीको बचत अपचलनमा मुद्दा चलिसकेको छ। त्यसमा लामिछानेको नाम छैन। थप उजुरीमा लामिछानेको नाम भए पनि उजुरी पर्दैमा राजीनामा दिई हाल्नुपर्ने होइन भन्ने अर्कोथरी छन्। देशको शीर्षतहको अहिलेको राजनीतिक विवाद यही हो। यस विवादमा संसदको नियमित काम प्रभावित छ भने सरकार पनि बेअसर रहनसकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं पनि लामिछानेको बचाउमा लागिपरेका छन् र संसददेखि मिडियासम्मलाई फेस गरी राखेका छन्।
पहिलो कुरो नेपाली कांग्रेसको। लामिछानेको राजीनामा माग्दै आएको कांग्रेस एक दुई साता अघिमात्र सत्ताबाट बाहिरिएर विपक्षमा पुगेको हो। कांग्रेसले विपक्षमा आउनासाथ ठूलो मुद्दा हात लाग्यो भनी ठान्नु बेकार छ।

अघिल्लो पटक गृहमन्त्री हुँदा आइपरेको संकटको तुलनामा अहिलेको सहकारी बचत अपचलनको मुद्दा केही होइन। लामिछानेले कांग्रेसले अडकाएको सहकारी बारलाई कसरी छिचोलेर निस्किन्छन्, कांग्रेसले पत्तै पाउँदैन। लामिछानेले गृहमन्त्रालय नछाडे अनुसन्धान प्रभावित हुन्छ भन्ने कांग्रेसको कथन सही हो। लामिछानेले त्यसैले पनि गृहमन्त्री छाडने छैनन्।
कांग्रेसले संसदको कामलाई अवरुद्ध पार्नुको सट्टा पीडित बचतकर्ता सर्वसाधारण जनताको साथ लिएर सडक तताउने काम गरे भने कदम बलियो हुनेछ। र यति मात्रै होइन, यसले कांग्रेसलाई राजनीतिक लाभ त दिन्छ नै, पीडित बचतकर्ता सर्वसाधारण जनताको हितमा पनि गुणात्मक फाइदा पुग्छ। कांग्रेसले लामिछानेको यो सूत्रलाई समातेर देशभरका सहकारी बचत पीडित सर्वसाधारण जनताको सवाललाई सम्बोधन गर्ने गर्दै अघि बढ्ने हो भने कांग्रेसले ठूलै जनाधार बढाउन सक्छ।तर कांग्रेसमा पनि जनताको लागि यसरी मिहिनेत गरेर जाने जमर्को छैन। कदाचित कांग्रेसले कोसिस गरी हाल्यो भने पनि कांग्रेसकाे खुट्टा छेक्ने कांग्रेसमै पनि कति सहकारी बचत अपचलनकारी प्रकट भएर आउन सक्छन्।

अब प्रधानमन्त्री पुष्पकमल दाहालको कुरा। प्रचण्डले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने भनेर प्रहरीले नै ब्रिफिङ गरेको बताएका छन् । कांग्रेसले उठाएको विषयमा संसदमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले हालसम्मको अनुसन्धानले लामिछाने उक्त सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै नजोडिएको बताएका छन्। सूर्यदर्शन सहकारीका पीडितहरुले सुरुमा दिएको जाहेरीमा कसैको नाम किटान नगरिएको तर पनि त्यसमा अनुसन्धान गरेर १९ जना विरुद्ध मुद्दा दायर भएको, ४ जना पक्राउ परेको र अरुको खोजी भइरहेको उनले बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले सुरु जाहेरी परेको ६ महिनापछि मात्र रविसहित १६ व्यक्ति तथा संस्थाविरुद्ध पुरक जाहेरी परेको भएपनि रवि सहकारी हिनामिनामा संलग्न भएको आधार प्रमाण पेश नभएको दाबी गरे । एक पटक अनुसन्धान सकेर अदालतमा दायर भएको मुद्दामा आधार प्रमाण बिना परेको जाहेरी पुनः दर्ता गर्न आश्यक नहुने भएकाले त्यो जाहेरी दर्ता नै नभएको प्रधानमन्त्रीले बताए ।

अर्थात् गृहमन्त्री लामिछाने विरुद्ध परेको पुरक जाहेरी प्रहरीले अहिलेसम्म दर्ता नै नगरी राखेको अवस्था छ। अर्थात् सरकारले अनुसन्धान प्रक्रियालाई प्रभावित गर्नु भनेको यही हो। अदालतले बोल्ने नबोल्ने कुरा प्रधानमन्त्रीले बोल्नु नै अनुसन्धान कारबाहीलाई सरकारले प्रभावित पार्नु हो। एक पटक जाहेरी परी अदालतमा विचाराधीन रहेको मुद्दामा पुरक जाहेरी पर्न आएमा त्यस्तो जाहेरी अनुसार आवश्यक अनुसन्धान गरेर पुरक अभियोगपत्र वा प्रतिवेदन अदालतमा दाखिल गर्नैपर्छ। पुरक जाहेरी अनुसार आरोपी विरुद्ध आधार प्रमाण छ कि छैन भन्ने कुरा बोल्ने क्षेत्राधिकार प्रहरी वा प्रधानमन्त्रीको होइन। पुरक जाहेरी एक जना रवि लामिछाने विरुद्ध मात्र होइन, लामिछानेसहित १६ जना विरुद्ध परेको जानकारी दिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले ती सोर्हैजना विरुद्ध आधार प्रमाण नभेटिएको भन्न सकेका छैनन्। अर्थात् सरकारले अनुसन्धान प्रक्रियालाई प्रभावित पार्छ कि भन्ने संशयको निवारण गर्न अदालतको बाटो खुला छ।
जहाँसम्म प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री रवि लामिछानेलाई हटाओस् भन्ने सबाल छ, त्यसको समुचित जबाफ उनले दिने छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टी बिना प्रचण्ड सरकारको अस्तित्व छैन। लामिछानेले आफ्नै पार्टीका उपाध्यक्ष पूर्व गृहमन्त्री तथा पूर्व सभामुख कृष्णप्रसाद महरालाई पक्राउ गर्दा पनि गृहमन्त्रीको पिठ्युँ थपथपाउनेले कांग्रेसको दबाब सह्न नसकेर लामिछानेलाई हटाउला भन्न सजिलो छैन।
अब कुरा गृहमन्त्रीको। मन्त्री लामिछानेले प्रधानमन्त्री प्रचण्डलको कवच रहेसम्म केही बोल्नु जरुरी ठान्ने छैनन्। बरु दुईचारवटा थन्किएका फाइलहरू चालु गरेर जनताको नजरमा आउने कोसिसमा रहनेछन्। जनताको नजरमा नायक बन्न सकिने अवसर त लामिछानेले पाएका छन्। तर के उनी आफ्नै हकमा पनि पारदर्शी बन्न सक्छन्? यस कुराको जबाफ उनले मिसन ८४ मै गएर पनि जनतालाई दिनुपर्नेछ। मिडिया त्यतिबेला पनि जागा नै रहनेछ।

प्रतिक्रिया