प्रतियोगिताबाट बाहिरिएसंगै नेपालले विश्वभर चर्चा र प्रशंसा पायो ।

 

गणेश थापा, अमेरिका, १५ जुन २०२४ ।

अमेरिका र वेस्टइन्डिजमा जारी आइसीसी टी-२० विश्वकपमा यसपटकको उपाधि दावेदारको रूपमा हेरिएको दक्षिण अफ्रिकासंग एक रनको अन्तरले पराजित भएसंगै सुपर आठमा प्रवेश नपाई प्रतियोगिताबाट बाहिरिए तापनि नेपाली क्रिकेटले विश्वका संचारमाध्यहरूमा चर्चा पाउनुका साथै संसारका प्रसिद्ध खेलाडी तथा टिप्पणीकारहरूबाट प्रशंसा समेत बटुलेको छ ।

सो प्रतियोगिताको नवौं संस्करण अन्तर्गत विहिबार वेस्टइन्डिजमा भएको खेलमा नेपालले उच्च बरियताको दक्षिण अफ्रिकाले पेश गरेको १ सय १६ रनको चुनौती अन्तिम ओभरमा पार गर्न नसक्दा सुपर आठमा प्रवेश पाउने अवसर मात्रै गुमाएन सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा सिधै प्रतिस्पर्धा गर्नबाट समेत बन्चित हुनुपरेको छ ।

दक्षिण अफ्रिकाका मिडियाहरूले नेपाली क्रिकेट टिमको खुलेर तारिफ गरेका छन् भने एसियाकै प्रसिद्ध ‘द इन्डियन एक्सप्रेस’ ले लेखेको छ-‘हारका बाबजूद पनि नेपालले इतिहास रचेको छ ।’

यता एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका विभिन्न भागमा छरिएर रहेका नेपाली मुटुहरूलाई एकीकृत गर्दै नैतिक रूपमा नेपालले दुनियॉको मन जितेको कुरा एक सन्देश मार्फत उल्लेख गरेका छन् ।

यसैगरी विश्व प्रसिद्ध समालोचक एलन विल्किन्स् र दक्षिण अफ्रिकाका राष्ट्रीय क्रिकेट टिमका कप्तान एडेन मार्करामले वेस्टइन्डिजमा नेपालले उच्च स्तरीय प्रदर्शन गरेर विश्व क्रिकेटका आगामी स्पर्धामाझ चुनौती थपेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया