अस्पतालमाथि लगाइएका आरोप झुठा र भ्रामक: डा. सुशीला सिंह
लहान।सिरहाको गोलबजारस्थित उत्तिमलाल मेमोरियल हस्पिटलका सञ्चालक डा. सुशीला सिंहले अस्पतालमाथि हालै लगाइएका आरोपहरू खण्डन गर्दै पत्रकार सम्मेलनमार्फत आफ्नो पक्ष सार्वजनिक गर्नुभएको छ। उहाँले अस्पतालले मोटो रकम असुल गरेको आरोपलाई गलत, अतिरञ्जित, र भ्रामक सूचनामा आधारित भएको बताउनुभयो। उहाँका अनुसार, अस्पतालको छवि धमिल्याउने उद्देश्यले यस्ता आरोप लगाइएको छ।
डा. सिंहका अनुसार, सुत्केरी महिला सीता कुमारी महतो लहान प्रादेशिक अस्पतालबाट रेफर गरेर अत्यन्तै गम्भीर अवस्थामा अस्पताल ल्याइएकी थिइन्। उनलाई लामो समयदेखि प्रसव पीडा भएको र बच्चा जन्माउन निकै कठिन भएको थियो। चिकित्सकहरूले अपरेसनको तयारी गरिरहेका बेला, डाक्टरहरूको टोलीले अन्ततः सफलतापूर्वक सामान्य प्रसव गराउन सकेको थियो। जन्मिएपछि शिशुलाई श्वासप्रश्वासमा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार गरिएको थियो।
डा. सिंहले बच्चा “बर्थ एस्फिक्सिया” का कारण निस्सासिएको र बालरोग विशेषज्ञहरूको टोलीले तुरुन्तै भेन्टिलेसनको सहायतामा श्वासप्रश्वास सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो। नवजात शिशुको स्वास्थ्यमा सुधार आएपछि, पाँच दिनसम्म एनआईसीयूमा राखी थप उपचार गरिएको थियो। चौथो दिनमा शिशुलाई नियोनेटल जण्डिस देखिएको र त्यसको उपचार फोटोथेरापीबाट गरिएको थियो।
अस्पतालले सुत्केरी र नवजात शिशुको उपचारको लागि ७४,००० रुपैयाँको बिल पेश गरेकोमा, बिरामीको आर्थिक अवस्थालाई ध्यानमा राखेर १०,००० रुपैयाँ छुट दिँदै ६०,००० रुपैयाँमा सहमति गरिएको थियो। बिरामी परिवारले ५०,००० रुपैयाँ तिरेर बाँकी १०,००० रुपैयाँ तिर्न बाँकी रहेको अस्पतालले जनाएको छ।
डा. सिंहले बिरामीका परिवारले बाँकी रकम तिर्न आलटाल गरिरहेको आरोप लगाउँदै चाँडो बुझाउन अनुरोध गर्नुभएको छ। उहाँले अस्पतालविरुद्ध फैलाइएको गलत सूचना र आरोपले अस्पतालको प्रतिष्ठा बिगार्ने षड्यन्त्र भएको दाबी गर्दै, यस्ता भ्रमहरूमा नपरी सत्य तथ्य बुझेर मात्र धारणा बनाउन आग्रह गर्नुभएको छ।
अस्पतालले राज्यद्वारा निर्देशित सेवा–सुविधाहरूको पालना गर्दै आएको र जनताको स्वास्थ्य सेवामा निरन्तर काम गरिरहेको जानकारी दिएको छ।


प्रतिक्रिया