अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्प अगाडि, नतिजा आउन सुरू ।

 

गणेश थापा, क्यालिफोर्निया, ५ नोभेम्वर २०२४ ।

विश्वको सर्वशक्तिमान राष्ट्र संयुक्त राज्य अमेरिकामा आज ४७औं राष्ट्रपति चयनका लागि आम निर्वाचन सम्पन्न भएको छ । यससंगै मत परिणाम समेत आउनथालेको छ ।

प्रारम्भिक अवस्थामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मजबूत देखिएका छन् । उनले २३० इलेक्ट्रोलर मत पाउदा उनका प्रतिस्पर्धी कमला ह्यारिसले २१० इलेक्ट्रोलर मत प्राप्त गरेकी छन् ।भोलीसम्ममा सवै नतिजा आइसक्ने बताइएको छ ।

संवैधानिक व्यवस्था अनुसार प्रत्येक चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचनमा यसपटक १६ करोड बढी मतदाताले शान्तिपूर्ण रूपमा मतदान गरेको संघीय निर्वाचन आयोगका अधिकारीहरूले उल्लेख गरेका छन् ।

पुनः ह्वाइटहाउस प्रवेश गर्नेमा ढुक्क देखिएका रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसका बीच इतिहासकै कडा प्रतिस्पर्धा भएको अन्तर्राष्ट्रीय संचारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मुख्य दिन आउनु अगाडि पनि मतदान गर्न सक्ने संवैधानिक व्यवस्था छ । सो व्यवस्था बमोजिम करीव ८ करोड २२ लाखले अर्ली मतदान गरेको निर्वाचन अधिकारीहरूले बताएका छन् ।

निर्वाचनको मुख्य दिन आउन केही घण्टा बॉकी रहदासम्म दुवै उम्मेदवार बीच तल्लोस्तरको आरोपप्रत्यारोप चलेको थियो ।

आप्रवासीप्रति कडा देखिएका ट्रम्पले अवैध रूपमा अमेरिका प्रवेश गरेकाहरूलाई देश निकालादेखि सीमापर्खाल निर्माण, महंगि नियन्त्रण, करको दर घटाउने, डिभि लोटरी बन्द गर्ने लगायत अवैध प्रवेश रोक्न कडा कदम चाल्ने तथा रूस-युक्रेन र मध्यपूर्वको युद्ध अन्त्य गर्नेसहित मेक अमेरिका ग्रेट अगेन जस्ता विषयलाई चुनावी नारा बनाएका थिए ।

यता ह्यारिसले पनि महंगि नियन्त्रण, मध्यमवर्ग अनुकूल अर्थतन्त्रमा सुधारदेखि गर्भपतनलाई वैधता एवं बन्दूक राख्न पाउने अधिकारमा कटौती लगायतका मुद्दा अघि सारेकी थइन ।

उता न्यूयोर्क टाइम्स, वासिगंटन पोस्ट, युएस टुडे, एवीसी लगायतका स्थानीय संचार माध्यम तथा केही स्वतन्त्र रूपमा निर्वाचनको सर्वेक्षण गरिरहेकाहरूले जर्जिया, एरिज़ोना, मेसिगन, पेन्सिलभेनिया, नर्थक्यारोलिना, विस्कन्सिन, नेभदा लगायत ब्याटल ग्राउण्डको रूपमा हेरिएका अधिकांश राज्यहरूमा ट्रम्पलाई मजबुत देखाएका छन् ।

यी सातवटा स्वीगं स्टेटसंग ९३ इलेक्ट्रोलरकलेज मत छ । राष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा २७० इलेक्ट्रोलर मत आवश्यक पर्छ ।

अमेरिकी जनताले सिधै राष्ट्रपति चुन्ने कानुनी व्यवस्था नभएको कारण ५० वटै राज्यको इलेक्ट्रोलरकलेज मत मार्फत राष्ट्रपति निर्वाचित हुनेछन् । अमेरिकामा कूल ५३८ इलेक्ट्रोलरकलेज मत छ । यसमा ट्रम्प अगाडि देखिएका छन् ।

यद्यपि निर्वाचनको अन्तिम मतपरिणाम नआउँदासम्म संसारकै सर्वशक्तिमान मुलुकको चाबी कस्को हातमा पुग्ने हो यसै भन्न सकिन्न । सन् २०१६ को निर्वाचनमा हिलारी क्लिन्टनले चुनाव जित्ने सर्वेक्षकहरूको ९० प्रतिशत दावीलाई हावा खुवॉउदै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया