क्यालिफोर्नियामा नेपाली कम्युनिटी सेन्टर स्थापना, दिक्पाल केसीले दिए ५० हजार डलर सहयोग

 

गणेश थापा, क्यालिफोर्निया, ८ मार्च, २०२५ ।

संयुक्त राज्य अमेरिकामा पछिल्लो समय नेपालीहरूको जनसंख्या र बसोबास बढ्दो क्रममा छ ।

समुदायको बाक्लो उपस्थितिसंगै आफ्ना सामाजिक, धार्मिक तथा परम्परागत संस्कार एवं रितिरिवाज लगायतका विभिन्न कार्यक्रम गर्न आवश्यक पर्ने सामुदायिक भवन संरचना निर्माण गर्ने सिलसिला समेत बढिरहेको छ ।

यसैक्रममा पश्चिम अमेरिकी राज्य क्यालिफोर्नियामा नेपाली कम्युनिटी सेन्टर स्थापना गरिएको छ ।

१ दशमलव ८६ मिलियन डलरमा रिचमण्ड सिटीमा खरिद गरिएको उक्त सामुदायिक भवनको आज विधिवत रूपमा उद्घाटन तथा गृह प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

सो सामुदायिक सेन्टर स्थापनाका लागि ५ सय बढी नेपालीहरूले करीव ८ लाख डलर सहयोग स्वरूप दिएको नेपाली एसोसिएशन अफ नर्दन क्यालिफोर्नियाका पूर्वअध्यक्ष तथा एनआरएनए आइसिसी मेम्बर उत्तम कार्कीले बताए ।

सान फ़्रान्सिस्कोमा व्यवसाय संचालन गर्दै आएका व्यापारी दिक्पाल केसीले सवैभन्दा बढी ५० हजार डलर डोनेशन गरेको बताइएको छ ।

यस्तै एनआरएनए अमेरिकाका पश्चिम क्षेत्रीय अध्यक्ष विष्णु केसीले स्वर्गीय आमाको सम्झनामा सामुदायिक सेन्टरका लागि आवश्यक छुट्टै संरचना बनाएर १०औं हजार डलर बराबर सहयोग गरेका सो संस्थाले जनाएको छ ।

एक सय ३० भन्दा बढी सवारी साधन पार्किंग गर्न सकने स्पेससहितको उक्त भवनमा एउटा कार्यक्रम हल, ५ वटा अफिस कोठा, डाइनिंग लगायतका सुविधा रहेको कार्कीको भनाई छ ।

यस सामुदायिक सेन्टरबाट यहॉ बसोबास गर्ने हजारौं नेपालीहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष फाइदा लिन सक्ने उनले बताए ।

प्रतिक्रिया