अमेरिकाको दक्षिणी राज्य टेक्सासमा ३८ वर्षपछि विनाशकारी बाढी, कम्तीमा ५० बढीको ज्यान गयो, दर्जनौं वेपत्ता

गणेश थापा, अमेरिका, ६ जुल्लाई ।
संयुक्त राज्य अमेरिकाको दक्षिणी प्रान्त टेक्सासमा ३८ वर्षपछि आएको विनाशकारी बाढीमा परी ठूलो जनधनको क्षति भएको छ ।
बाढीबाट हालसम्म कम्तीमा ५१ जनाको मृत्यु भएको र अन्य २७ जना मानिसहरू हराइरहेको स्थानीय संचारमाध्यमहरूले उल्लेख गरेका छन्।
यधपि कतिपय संचारगृहहरूले भने मृतक र वेपत्ता हुने मानिसको संख्या योभन्दा बढी रहेको तथ्यहरू पेस गरिरहेका छन् ।
शुक्रवार सवेरै स्थानीय केर काउन्टीस्थित ग्वाडालुप नदीमा आएको बाढीमा परी हराइरहेकाहरूको खोजी तथा उद्धारमा अधिकतम साधनस्रोतका साथ सुरक्षाकर्मी लगायत आपतकालिन व्यवस्थापन सेवाका उद्धारकर्ताहरू निरन्तर लागिरहेको टेक्सासका गभर्नर ग्रेग आवेटले बताएका छन् ।
साथै प्रभावकारी उद्धर कार्यका लागि उनले सो क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा समेत गरेका छन् ।
रातीको समयमा भएको भारी वर्षापछि नदीमा अस्वाभाविक रूपमा पानीको सतह बढ्दा आसपासका मानव बस्ती र संरचनाहरूसहित ठूलो मात्रामा जनधनको क्षति भएको बताइएको छ ।
मृत्यु हुनेहरूमा १५ जना बालबालिका रहेका छन् । अझैपनि उक्त नदी किनारामा अवस्थित माइस्टिक समर क्रिस्चियन क्याम्पका दुई दर्जन बढी युवतीहरू बढीमा परी वेपत्ता भएको खबर अमेरिकी संचारमाध्यमहरूले प्रशारण गरिरहेका छन् ।
भीषण बाढीमा परेको क्याम्पमा त्यसवेला ७ सय बढी मानिसहरू रहेको र धेरैलाई उद्धार गरिएको बताइएको छ । हेलिकप्टर, रबर तथा जेटबोट, मानवरहित यानसहित खोजी तथा उद्धार कार्यमा परिचालित सयौं रक्षकहरूले हजारौंको उद्धार गरेको रिपोर्टहरू आइरहेका छन् ।
यता राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढी पीडितहरूका लागि राहत र वेपत्ताको खोजी तथा उद्धार कार्यमा आवश्यक सवै खालको प्रयास गरिने बताएका छनभने यो विपदबाट पाठ सिक्दै राष्ट्रीय मौसम सेवा विभागको समेत स्तरोन्नत्ति गरिने ट्रम्प प्रशासनको भनाई छ ।
प्रतिक्रिया