वडा अध्यक्ष अमित ठकुरीको खेलप्रतिको प्रतिबद्धता महिला खेलाडीहरू राष्ट्रिय स्तरको फुटबल छनोटमा

 

विनोद अविरल, साउन ३ – सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ का लागि यो साउन महिना गर्वको क्षण बनिरहेको छ ।

स्थानीय युवा र खेलकुद विकासमा सक्रिय वडा अध्यक्ष अमित ठकुरीको निरन्तर प्रयास र ध्यान केन्द्रित योजनाको प्रतिफलस्वरूप यहाँका महिला फुटबल खेलाडीहरू राष्ट्रिय स्तरको छनोटसम्म पुग्न सफल भएका छन् ।

धनगढीमाई–१४ का महिला फुटबल खेलाडीहरू वर्षा राई र शरदा मगरले जिल्ला तथा प्रदेशस्तरीय छनोट खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै अब राष्ट्रिय तहको प्रतिस्पर्धाको ढोका खोलेका छन् ।

मधेश प्रदेश फुटबल संघले साउन ३ गते एक सूचना जारी गर्दै U-१७ समूह अन्तर्गतका यी दुवै खेलाडीहरूलाई राष्ट्रियस्तरीय छनोटका लागि छनौट गरिएको जानकारी दिएको हो । उनीहरूको अन्तिम छनोट खेलहरू साउन ४, ५ र ६ गते हेटौंडाको गौरीटार रंगशालामा सम्पन्न हुने कार्यक्रम रहेको छ ।

वडा अध्यक्ष अमित ठकुरीले करिब दुई वर्षदेखि स्थानिय युवा तथा किशोरीहरूलाई खेलतर्फ आकर्षित गर्न आवश्यक खेल सामाग्री व्यवस्थापनदेखि मैदान व्यवस्थापनसम्मको नेतृत्व गर्दै आएका छन् । उनले खेलाडीहरूलाई प्रशिक्षण, अभ्यासका लागि स्थान, कोच तथा सामाग्रीहरूको सुनिश्चितता गर्न निरन्तर पहल गरेका थिए ।

“खेलले अनुशासन, आत्मबल र भविष्य निर्माण गर्छ भन्ने विश्वासका साथ हामी अघि बढिरहेका छौं,” ठकुरीले बताए । उनले धनगढीमाई–१४ लाई ‘खेलमैत्री वडा’ बनाउने लक्ष्यसहित महिला तथा पुरुष दुवै खेलतर्फ प्रोत्साहन गर्न विशेष पहल गर्दै आएका छन् ।

स्थानीय विद्यालय, अभिभावक र समुदायले समेत युवा खेलाडीहरूको यो सफलतालाई उत्साहजनक रूपमा लिएको छ । वर्षा राई र शरदा मगरको छनोटले अन्य किशोरीहरूलाई पनि खेलकुदतर्फ लाग्न प्रेरणा दिने स्थानीय शिक्षक भगवान दत्त शर्माले बताए ।

धनगढीमाई १४ अब खेलकुदमा मात्र होइन, महिला सशक्तीकरणको प्रेरणास्रोत बन्दै गएको छ । अध्यक्ष ठकुरीको सक्रिय नेतृत्व र समुदायको सहकार्यले खेलकुदमा नयाँ अध्याय सुरु गरेको देखिन्छ ।

उक्त छनोट खेलमा सफल भएमा यी खेलाडीहरू राष्ट्रिय फुटबल टिममा प्रतिनिधित्व गर्दै देशको नाम उच्च राख्ने सम्भावना बलियो देखिन्छ ।

प्रतिक्रिया